TRENDING

मेलम्चीको ठेकदारलाई कारबाही गर्न सांसदहरुको माग


२४ पुस, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध पार्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन ।

संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु यज्ञराज सुनुवार र राजेन्द्र लिङ्देनले पछिल्लो समय इटालियन ठेकेदार कम्पनी सिएमसीले सो आयोजनाको काम अलपत्र पार्ने काम गरेको भन्दै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुनुवारले सो आयोजनाको काममा ढिलासुस्ती गर्ने पत्ता लगाउन संसदीय छानवीन समितिनै गठन गर्न पनि माग गरे । उनले संसदीय समितिले छानबिन गरेपछि दोषीमाथि कारबाही गर्न सहज हुनेतर्फ पनि सरकार र संघीय संसदको ध्यानाकर्षण गराए ।

बजेट अभाव भएको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले सकिनै लागेको मेलम्ची खानेपानी आयोजनाको काम छोडेको छ । त्यस सम्बन्धमा यथार्थपरक छानबिन गर्न संसदीय समितिनै गठन गर्नुपर्ने सांसद सुनुवारको माग छ ।

अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्नेहरुलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे ।

बैठकमा समितिका अन्य सदस्यहरुले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको आलोचना गरेका थिए ।

यसैबीच, संघीय संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिइन् ।

मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुको गुणस्तर परीक्षणसम्बन्धी पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशिघ्र समितिमा बुझाउन पनि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गरेको छ । बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव विष्णुओम बादेले केन्द्रको काम कारबाहीबारे समितिलाई जानकारी गराएका थिए ।

January 8, 2019

    प्रतिक्रिया दिनुहोस

    %d bloggers like this: