२०८२ असार ०६ ।
नेपाल राष्ट्र बैंकबाट वि.स. २०७७ असोज ११ गते सञ्चालन इजाजत पाएको पेवेल नेपाल प्रालि र वि.सं. २०७७ चैत्र १७ गतेदेखी सञ्चालन इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेस दुई वालेट कम्पनीलाई नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै लाइसेन्स खारेज गरेको जानकारी गराएको हो । बैंक सञ्चालक समितिको निर्णय अनुसार भुक्तानी तथा फर्छ्यौट ऐन २०७५ को दफा ३५ को उपदफा २(च) को व्यवस्था अनुसार ती कम्पनीको इजाजत पत्र रद्द गरिएको हो ।
दुबै वालेट कम्पनीले विदेशबाट अवैधमाध्यमबाट पैसा भित्र्याउने र वितरण गर्ने काममा जानाजान सहभागि भएको पुष्टी भएपछि इजाजत पत्र खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। यी दुबै कम्पनीको कारोबार र कारोबार रकम दुबै शंकास्पद देखिएपछि दुबै कम्पनीका सञ्चालक र प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा वालेटमा एक ठाउँबाट पैसा लोड गर्ने र अर्को ठाउँबाट भुक्तानी दिने काममा वालेटका एजेण्टहरू नै प्रत्यक्षरूपमा संलग्न रहेको तथ्य प्रकाशमा आएको थियो। बैंकका अनुसार,भुक्तानी तथा फर्छ्यौट ऐन २०७५, भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का विभिन्न प्रावधानको उल्लंघन गरेका थिए। ।